काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नभेटी फर्किएको छ ।
प्रसाईँ नजरबन्दमा रहेको भन्ने समाचारहरू आएपछि उनको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली शुक्रबार प्रसाईँ निवास भक्तपुर गएको थियो । तर, प्रसाईँका समर्थकहरूले उनलाई भेट्नबाट रोकेका थिए । आयोगको टोली करिब ४५ मिनेट गेटमा बसेर फर्किएको थियो ।
‘प्रसाईँलाई नजरबन्दमा राखिएको हो हाइन, उहाँलाई बाहिर निस्कन दिएको छ छैन भन्ने बारेमा बुझ्नका लागि हाम्रो टोली प्रसाईँको निवासमा गएको हो,’ आयोग स्रोतले भन्यो, ‘सुरक्षाकर्मीले रोकेनन्, प्रसाईँकै समर्थकले रोके । यसलाई नजरबन्द भन्ने कि के भन्ने ?’
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार उनलाई नजरबन्दमा नभई सुरक्षाका कारण थप निगरानीमा राखिएको छ । गणतन्त्र विरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो ।