काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को पराजित पक्षले सङ्घको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ । पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।
ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र सङ्घका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको शर्मा नेतृत्वको एनआरएनएका महासचिव बुद्धि सुवेदीले जानकारी दिएका छन् ।
अध्यक्ष शर्मासहितका पदाधिकारी नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित सङ्घको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश गर्न पाएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीसँग छलफल गरेका थिए । त्यसै क्रममा शर्माले सङ्घको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको ताला चाबी जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, त्यस क्रममा राउतले सङ्घको सम्पूर्ण तालाचाबी डा. बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा सञ्चालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गर्नुपर्ने बताएका छन् ।
शर्माले नेतृत्व गरेको एनआरएनए आइसिसीले आधिकारिकताको दाबी गर्दै गत शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिइसकेको छ ।