काठमाडौँ । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणको लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाइएको छ ।
शुक्रबार विभागले दर्ता भइसकेको कम्पनीहरूको विवरण अनलाइन प्रक्रियामार्फत अद्यावधिक गर्न भनेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लागत, सेयर होल्डर सदस्य, उनीहरूको विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बर लगायतका विवरणहरू पेस गर्न कम्पनी रजिस्ट्रारले भनेको छ ।
कम्पनीहरूले आफ्नो विवरण पेस गरेपछि कम्पनी दर्ता, खारेजी, सेयर लागत लगायतका कम्पनी विवरणसँग आवश्यक कागजपत्र कम्पनीहरूको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनु पर्ने बाध्यता हट्ने छ ।

