पालिका अध्यक्षका छोराले कुटपिट गरेपछि कर्मचारीद्वारा प्रशासनसँग सुरक्षा माग  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पालिका अध्यक्षका छोराले कुटपिट गरेपछि कर्मचारीद्वारा प्रशासनसँग सुरक्षा माग 


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्युठानको झिमरूक गाउँपालिकाका अध्यक्षका छोराले हातपात गरेपछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेका छन्। 

बुधबार गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनका केन्द्रीय उपाध्यक्ष मिलनले प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरूमाथि हातपात गरेका हुन् । 

उक्त घटनापछि आज (बिहीबार) आन्दोलनरत कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी मदन कोइरालासँग छलफल गरेका छन्। उक्त घटनाबारे शुक्रबार पनि छलफल गरेर निष्कर्षमा पुग्ने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । 

उनले प्रशासनसँग भने, ‘आज दिनभर कर्मचारीसँग घटना के भएको हो भन्ने बारेमा मैले सोधपुछ गरी घटनाबारे जानकारी लिए, भोलि फेरि छलफल गरी निष्कर्षमा पुग्छौ ।’  

कर्मचारीहरूले सुरक्षा माग गरेपछि प्रमुख जिल्ला अधिकारी कोइरालाले असहज परिस्थिति भए सुरक्षा पनि दिइने तर पहिले घटनाबारे विस्तृत अध्ययन गर्ने बताए । 

‘आज कर्मचारीहरूसँग छलफल भएको छ, योजनाको विषयमा उनीहरूको विवाद भएको देखिन्छ, त्यसबारे भोलि योजना सम्झौता लगायतको विषयमा अध्ययन गर्छौ,’ उनको भनार्ई छ । 

यता प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले छलफलको क्रममा काम गर्ने वातावरण नबनेको हुँदा सुरक्षाको माग गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन् । 

प्रमुख जिल्ला अधिकारी कोइरालासँगको छलफलमा सुरक्षा र दोषीमाथि कारवाहीको माग गरेको भन्दै अधिकृत रिजालले भने, ‘सामान्य व्यक्तिले भए एउटा कुरा थियो, गाउँपालिकाकै अध्यक्षको छोराले हातपात र दुर्व्यवहार गर्दा काम गर्ने वातावरण भएन, हामीलाई सुरक्षा चाहियो भनेर प्रतिअलाई स्पष्ट भनेका छौँ।’ 

अधिकृत रिजालले न्यायको अनुभूति नभएसम्म काममा नफर्किने अडान लिएका छन्। घटनापछि गाउँपालिकाको कामकाज ठप्प छ । 

अध्यक्षका छोरा मिलनले बुधबार दिउँसो एक योजनाको भुक्तानी लिने विषयलाई लिएर अधिकृत रिजाल सहितका कर्मचारीमाथि हातपात गरेका थिए। 

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षका छोराद्वारा कुटपिटपछि कर्मचारी आन्दोलित

Tags :
प्रतिक्रिया दिनुहोस