नेपालका प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालका प्रशिक्षक मोन्टी देसाइ दक्षिण अफ्रिका प्रस्थान


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भिसा प्राप्त गर्न ढिलाइ भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाइ बिहीबार मात्र दक्षिण अफ्रिका गएका छन्।

सुरुमा अमेरिकाबाट दक्षिण अफ्रिकाको भिसाको प्रक्रिया अघि बढाएका देसाइले त्यहाँबाट भिसा पाउन सकेका थिएनन्। त्यसपछि भारत आएर उनले भिसा प्रक्रिया अघि बढाएका थिए।

क्यानका अनुसार उनले बुधबार मात्र भिसा प्राप्त गरेका थिए। लगत्तै उनी भारतबाट दक्षिण अफ्रिका प्रस्थान गरेका छन्।

एक साताअघि नेपाली टिम प्रशिक्षक देसाइ र स्पिनर सन्दीप लामिछानेबिना एक दिवसीय विश्वकप छनोटको तयारी गर्न दक्षिण अफ्रिका गएको थियो।

नाबालिक बलात्कारको आरोप लागेका सन्दीप कानुनी प्रक्रिया मिलेपछि केही दिनअघि दक्षिण अफ्रिका गएका थिए।

दक्षिण अफ्रिकामा नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दैछ। यसपछि नेपालले नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ।

जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न एक सातादेखि दक्षिण अफ्रिकामा छ।

नेपाली टिम प्रतियोगिताका लागि चार दिनपछि दक्षिण अफ्रिकाबाटै जिम्बावे पुग्नेछ। जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३) आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विश्वकप छनोटका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो रहका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस