काठमाडौँ । काठमाडौँ गोकर्णेश्वर नगरपालिकाको वडा नं ९ मा अवस्थित एक विद्यालयमा ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । परिवार कल्याण महाशाखाको खोप शाखामा कार्यरत एक कर्मचारीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शङ्कास्पद नमुना परीक्षणका लागि ल्याइएकोमा आज ४ जनामा संक्रमण देखिएको हो ।
ती कर्मचारीले भने,‘त्यहाँको एक विद्यालयमा करिब ५० जना विद्यार्थीहरूमा दादुराको शङ्कास्पद लक्षण देखिएको थियो । त्यहाँ विद्यार्थीहरूले खोप नलगाएको पाइयो । विद्यालय भएकाले पनि तीव्र रूपमा फैलिएको रहेछ ।’
विज्ञहरूका अनुसार एकै पटक ५ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएमा दादुरालाई महामारीको रूपमा लिने गरिन्छ ।
खोप शाखाअनुसार दादुरा नियन्क्रणकालागि संक्रमित बिरामीको दुर्त गतिमा व्यवस्थापन भइरहेको छ । आउँदो शुक्रबार समुदाय तथा सरोकार बलाहरूको बैठक गरिने र आइतबार यदि आवश्यक भएमा दादुरा रुबेलाको खोप दिने योजना रहेको बताइएको छ ।