लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि प्रधानमन्त्रीले गर्ने  « प्रशासन
Logo ११ आश्विन २०८०, बिहिबार
   

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि प्रधानमन्त्रीले गर्ने 


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी भोलि (बिहीबार) औपचारिक उद्घाटन हुन लागेको हो ।  

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ ।  

यसअघि यही जेष्ठ १५ गते  कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको थियो । 

सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिएका थिए । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।  

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । 

लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका-३ सन्तपुरसम्म ३ किलोमिटर दुरीको  केबलकार लुम्बिनी प्रदेशको पहिलो बलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस