डेब्यू सिजनमै चर्च ब्वाइज ए डिभिजन लिगको च्याम्पियन  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डेब्यू सिजनमै चर्च ब्वाइज ए डिभिजन लिगको च्याम्पियन 


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । थ्री स्टार क्लबसँग मङ्गलवार दशरथ रङ्गशालामा गोलरहित बराबरी खेलेपनि नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ ।

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङ्दी क्लबले उपाधि जितेको थियो ।

मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोही कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बनेको छ । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औँ क्लबसमेत बन्यो ।

जारी लिगको अर्को दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब २४औँ चरणमा नेपाल पुलिस क्लबसँग २–१ गोलको नतिजामा पराजित भएसँगै चर्चब्वाइज उपाधि सङ्घारमा पुगेको थियो । चर्च ब्याइजलाई उपाधि जित्न अन्तिम दुई खेलमा एक अङ्क आवश्यक थियो ।

च्याम्पियन चर्चब्वइजको २५ खेलमा ४५ अङ्क छ । जुन दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अङ्क बढी हो । मछिन्द्रले जारी लिगमा २ खेल खेल्न बाँकी छ । दुवै खेलमा जित निकाले र अन्तिम खेलमा चर्चब्वाइज हारे मछिन्द्र र चर्चब्वाइजको अङ्क बराबरी हुनेछ । तर, हेड टु हेडका आधारमा चर्चव्वाइजनै च्याम्पियन हुनेछ ।

२०६६ सालमा स्थापना भएको चर्चब्वाइज ७७ सालमा सी डिभिजन छनोटको च्याम्पियन बनेको थियो । त्यसपछि २०७८ मा सी डिभिजनको च्याम्पियन हुँदै बी मा बढुवा भएको चर्चब्वाइजले ७९ सालमा बी डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा छनोट भएको थियो भने २०८० मा ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस