काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले गत जेठ १९ गते जारी गरेको राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी अन्तिम नतिजामा आदिवासी जनजाति सम्बद्ध संस्थाहरूले असन्तुष्टि जनाएका छन् ।
तथ्याङ्क कार्यालयले जारी गरेको जाति, भाषा र धर्मसम्बन्धी नतिजामा कुनै वास्तविकता र विश्वसनीयता नभएको उनीहरूको भनाइ छ । नेपाल आदिवासी जनजाति महासङ्घ लगायतका जातीय संघसंस्थाहरूले उक्त नतिजा तत्काल सच्याएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को अनुसूची अनुसारका आदिवासी जनजाति सङ्गठनहरू र आदिवासी जनजाति आयोगको सुझावलाई मुख्य आधार बनाएर पुनः सार्वजनिक गर्न समेत आग्रह गरेका हुन् ।
‘तथ्याङ्क कार्यालयले जारी गरेको जाति, भाषा र धर्मको महलमा आएको तथ्यांकप्रति कुनै वास्तविकता र विश्वसनीयता नभएको समेत प्रस्ट पार्दै यो नतिजालाई अस्वीकार गर्दछौ । नियोजित रूपमा गरिएको यो भ्रामक तथ्याङ्कलाई तत्काल सच्याएर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को अनुसूची अनुसारका आदिवासी जनजाति सङ्गठनहरू र आदिवासी जनजाति आयोगको सुझावलाई मुख्य आधार बनाएर पुनः विवरण सार्वजनिक गर्न हामी नेपाल सरकार र राष्ट्रिय तथ्याङ्क कार्यालय समक्ष जोडदार माग गर्दछौ । अन्यथा तत्काल यो नतिजा नसच्याएमा निर्णायक आन्दोलनको मैदानबाट फैसला हुने समेत उद्घोष गर्दछौ’, संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन् ।