नवनियुक्त सदस्य अनिता शाहले शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पायो पूर्णता  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नवनियुक्त सदस्य अनिता शाहले शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पायो पूर्णता 


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो ।

नवनियुक्त सदस्य ढुङ्गानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ लिइन् । महिला सदस्यको रूपमा ढुङ्गानालाई १४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुङ्गाना सामाजिक एवम् राजनीतिक क्षेत्रमा सक्रिय महिला नेतृ हुन् । यूनडीपीमा समेत काम गरेको अनुभव भएको ढुङ्गानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्व समेत सम्हालिसकेकी छिन् ।

९ जेठ २०७९ मा आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पद बहाली गरेका थिए । तत्कालीन माओवादी–एमालेसहितको गठबन्धन भत्किएर माओवादी-काँग्रेससहितको गठबन्धन बनेपछि त्यसको असर आयोगलाई पर्‍यो । गठबन्धन परिवर्तन पछि केही नयाँ सदस्यहरू नियुक्त भए पनि आयोगले पूर्णता भने पाउन सकेको थिएन ।

यसअघि आयोगको सदस्यहरुा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए । नवनियुक्त सदस्य ढुङ्गानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन् ।

यसअघि नियुक्त भएका सदस्यहरू मध्ये डा। फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्याङ्क साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ । डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुदका साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरूको समन्वय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस