मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन विकेटले हराएको छ । 

यस जितसँगै नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको छ । 

मलेसियाको बाँगीस्थित बाईएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो । 

११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । यससँगै नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको छ । 

मलेसिया भ्रमणमा रहेको नेपाल पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेल सात विकेटले जित्न सफल नेपालले तेस्रो खेल २७ रनले जितेको थियो । 

चौथो खेलमा नेपाल चार विकेटले पराजित भएपछि शृंखला २-२ को बराबरी भएको थियो । आज सम्पन्न अन्तिम खेलमा नेपाल तीन विकटले विजयी हुँदै शृंखला आफ्नो पक्षमा पार्न सफल भएको हो । 

११० रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालकी सीताले ३७ बलमा ६ चौकासहित ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन बनाउँदा ज्योति पाण्डे ११ र अप्सरी बेगम १५ रनमा अविजित रहे । ओपनर कविता कुँवरले चार तथा इन्दु वर्मा र विन्दु रावलले समान पाँच रन बनाए । सम्झनाकुमारी खड्का शून्यमा पवेलियन फर्किइन् । 

मलेसियाकी आइना हमिजाह हशिमले दुई विकेट लिइन् । महिराह इजाती स्माइल, विनफ्रिड एन्नी दुराईसिनगम र आइसा एलीसा फिरदौजले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाका लागि वान जुलिया वान मोह रोस्दीले ४७ रन बनाउँदा दुराईसिनगमले २४ र स्माइलले २० रन जोडिन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कविता जोशीले दुई विकेट लिँदा इश्वरी विष्टले एक विकेट लिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस