विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्यालयको शौचालयमा जलिरहेको अवस्थामा भेटिए लेखापाल


२० जेष्ठ २०८०, शनिबार


काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।

मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६:५० बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता (डीएसपी) रन्जनकुमार दाहालले जानकारी दिए । डीएसपी दाहालका अनुसार ढकाल सोही विद्यालयको लेखापाल हुन् ।

उनी बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको डीएसपी दाहालले बताए ।

उनले प्रशासनसँग भने, ”शरीरमा लागेको आगोले पोलेर पीडाले चिच्याइरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तत्काल घटनास्थल पुगेको प्रहरी र स्थानीयले शौचालयबाट उद्धार गरेर शरीरमा बलिरहेको आगो निभाएको र घटनास्थलको प्रकृति हेर्दा सुरुमा किटनासक विषादी सेवन गरेपछि ढकाल आफैँले पेट्रोल खनाएर आगो लगाए जस्तो देखिएको छ ।” आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर रहेको उनले बताए । 

‘घटनास्थलमा विषादीको बट्टा भेटिएको छ। पेट्रोलको गन्ध आउने बोतल फेला परेका छन्,’ उनले भने, ‘घटना कसरी भयो भन्ने बारेमा यकिन भइसकेको छैन। तर, विषादी सेवनपछि पेट्रोल खन्याएर शरीरमा आफैँले आगो लगाउँदै आत्महत्याको प्रयास गरेको हुनसक्छ।’

गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्‍याइएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस