प्रधानमन्त्री दाहालद्वारा इन्दौरको फोहोर व्यवस्थापन केन्द्र अवलोकन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री दाहालद्वारा इन्दौरको फोहोर व्यवस्थापन केन्द्र अवलोकन


१९ जेष्ठ २०८०, शुक्रबार


इन्दौर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् ।

यस क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । उनले स्रोतबाट नै छ भागमा विभाजन गरेर फोहोरको व्यवस्थापन हुँदै आएको बताए ।

कुल एक अर्ब ५० करोड भारतीय रुपैयाँ लगानी रहेको सो केन्द्र सञ्चालनमा आएको एक वर्ष पुगेको छ । केन्द्रमा फोहोर व्यवस्थापनका लागि मासिक एक करोड १५ लाख भारतीय रुपैयाँ खर्च हुँदै आएको प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए ।

सो केन्द्रले फोहोरलाई व्यवस्थित गरेर आम्दानीसमेत गर्दै आएको छ । केन्द्रले मासिक तीन करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गर्ने उनको भनाइ छ । उक्त प्लान्टबाट ग्याससमेत उत्पादन हुँदै आएको छ । ती ग्यास इन्दौर सहरमा चल्ने सवारी साधनमा प्रयोग गरिँदै आइएको छ ।

केन्द्रको अवलोकनपछि प्रधानमन्त्री दाहालले नेपालबाट प्राविधिकहरू पठाइ फोहोर व्यवस्थापनको सफल अभ्यासको अध्ययन गर्न लगाउने पनि बताएका थिए ।

स्वच्छ भारत अभियानअन्तर्गत इन्दौर नगर निगमले फोहोर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए ।

प्रधानमन्त्री दाहाल केन्द्रको अवलोकन गर्न शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट मध्य प्रदेशको इन्दौर पुगेका हुन् । इन्दौर विमानस्थलमा उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका थिए । दाहालले शुक्रबार नै इन्दौरको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजासमेत गरेका थिए ।

प्रधानमन्त्री दाहालको सम्मानमा शुक्रबार नै मुख्यमन्त्री चौहानले रात्रि भोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्कने कार्यक्रम छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही जेठ १७ गते भारत गएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस