लिग टुको एउटा जित बापत पारस खड्कासहितका क्रिकेटरलाई जनही २० हजार दिइने  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लिग टुको एउटा जित बापत पारस खड्कासहितका क्रिकेटरलाई जनही २० हजार दिइने 


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुको खेलमा एउटा जित बराबर खेलाडीले जनही २० हजार रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली जितेका खेलमा सहभागी खेलाडीलाई प्रति जित २० हजार रुपैयाँका दरले नगद पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालले लिग टु मा ३६ मध्ये १९ खेल जितेको थियो भने एक खेल बराबरी गरेको थियो । ३६ खेलबाट नेपाल ४० अङ्क जोडेर तेस्रो हुँदै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

खेलाडीको उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै लिग टुमा विजयी भएको खेलमा सहभागी खेलाडीलाई नगद दिने निर्णय गरेको क्यानले जनाएको छ । क्यानको विशेष साधारण सभाले उक्त निर्णय गरेको हो ।

बराबरी भएको खेलसहित २० खेलमा सहभागी भएका हरेक खेलाडीलाई २० हजारका दरले नगद प्रदान गरिने बताए ।

नेपालले खेल जितेको शृङ्खलामा अन्तिम टोलीमा रहेका खेलाडीले खेल नखेले पनि उक्त पुरस्कार पाउने क्यानको भनाई छ । 

नेपालले जितेको सबै खेलमा सहभागी हुनेमा वर्तमान कप्तान रोहितकुमार पौडेल, करण केसी र दीपेन्द्र सिंह ऐरी छन् । उनीहरूले ४ लाखका दरले पाउनेछन् ।

नेपालले मोन्टी देसाईको आगमनपछि अन्तिम तीन शृखंलामा अभुतपूर्ण प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेर लिग टु मा शीर्ष तीनमा रहँदै ओडीआई मान्यता जोगाउनुका साथै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

पछिल्लो तीन शृङ्खलामा टिममा रहेका खेलाडीलाई पुरस्कृत गर्ने कि भनेर छलफल सुरु हुँदा नेपालको सफलतामा सबै खेलाडीको योगदान रहेकोले सुरुवातदेखि नै टिममा रहेका खेलाडीलाई नगद दिने निर्णय गरेको हो।

२०२० फेब्रुअरीमा नेपालले ओमान र अमेरिकासहित घरेलु मैदानमा शृङ्खला खेल्दा नेपालले दुई खेल जितेको थियो । उक्त शृखंलामा टिममा रहेका पूर्व कप्तान पारस खड्काले पनि दुई जित बापत ४० हजार पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस