विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए । उनले सशस्त्र प्रहरी बललाई विपद् व्यथापनका लागि तयारी अवस्थामा रहन आग्रह गरे । 

उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र सङ्कल्पको आवश्यकता रहेको बताए । 

“वर्षाको सिजन सुरु हुन लागेको छ । बाढी, पहिरो, डुबानका समस्याहरू देखा पर्न सक्छन् । सडकहरूमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्न सक्छ । त्यस्तो स्थितिमा तयारी रहनुस्,” उनले भने, “पहिला तपाईँहरूको सीप भन्दा मनको तयारी आवश्यक छ ।” 

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्धारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन उनले आग्रह गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस