गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गृहमन्त्री श्रेष्ठद्वारा त्रिशूलीमा विपद् अभ्यास अवलोकन


१८ जेष्ठ २०८०, बिहिबार


चितवन (कुरिनटार) ।
पानीभित्र पौडनु छ माछा सरी सलल,
लास उठाउँछौँ आँसु हुन्छ टलपल
केसम्म लासै पनि सड्न दिने छैनौँ
जनताको आशा भरोसा मर्न दिने छैनौँ ।

यस्तै भावनाका साथ सशस्त्र प्रहरी बलका गोताखोरले आज त्रिशूली नदीमा बगेका बाढीपीडितलाई उद्धारसम्बन्धी विपद्को अभ्यास प्रस्तुत गरे ।

उनीहरूले नदीमा बग्दै आएका ती व्यक्तिलाई उद्धार गरी प्राथमिक उपचारपछि नजिकैको अस्पतालसम्म पु¥याउने गरिएको अभ्यास देखाए ।

सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयले आज त्रिशूली नदीमा आयोजना गरेको अनुकरणीय अभ्यासमा गोतखोरहरुले पानीमा बग्दै बचाउ बचाउ भनी चिच्याएका व्यक्तिलाई डोरीको सहायताले तानेर उद्धार गरे ।

पानीमा बगेका व्यक्तिलाई ‘र्‍याफ्टिङ बोट’को सहायताले उद्धार गरिएको थियो । यस्तै गरी बग्दै आएका अर्का व्यक्तिलाई झोलुङ्गे पुलबाट डोरीको सहायताले उद्धार खोर त्रिशूली नदीमा झरी उद्धार गरेर सुरक्षित स्थानमा लगिएको थियो ।

सोही बखत भिरमा घाँस काट्दै गरेको अर्का व्यक्ति नदीमा खसेपछि डोरीको सहायताले नदीमा पुगेका अर्का गोताखेरले पिठ्युँमा बोकी किनारामा ल्याए ।

माछा मार्न गएका केही व्यक्तिमध्ये दुई जना पानीमा बेपत्ता भएकाले गोताखोरको समूहले पानीभित्रै गएर एक जनालाई जीवितै र अर्कालाई मृत अवस्थामा उद्धार गरेका थिए । उद्धार गर्ने क्रममा गोताखोरकै ¥याफ्टिङ बोट पल्टिएकाले पानीमा पौडँदै उनीहरू पुनः र्‍याफ्टिङ बोट पहिल्यैकै अवस्थामा ल्याएर खोजी कार्य जारी राखे ।

सशस्त्र प्रहरी बलले गरेको अभ्यासको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवलोकन गर्नुभयो । उहाँले देशको सार्वभौमसत्ता तथा अखण्डताको सम्वद्र्धनका साथै एकता र शान्ति सुरक्षामा सुरक्षा निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । उनले भने, ‘देश सुन्दर भएर पनि बाढी पहिरो, भूकम्प, आगलागीलगायत विपत्तिका सामना हामीले गर्दै आउनुपरेका छौँ । यस कारण विपद् न्यूनीकरण गर्न गठित विपद् व्यवस्थापन प्राधिकरणले काम गर्दै आएको छ ।’

उनले यसका लागि सशस्त्र प्रहरी बलले सराहनीय योगदान पुर्‍याउँदै आएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय शान्ति र सुरक्षाका लागि विगतमा गरेका कामको समीक्षा गर्दै सबै सुरक्षा निकाय तथा कर्मचारीको कामलाई परिमार्जन गरी प्रभावकारी तुल्याउन लागेको जानकारी दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोरले गर्दै आएको काम राज्य र नागरिकलाई आफ्नो ज्यान सुम्पे बराबर हो भने । उनले जीवित वा मृतावस्थामा उद्धार गरी परिवारका सदस्यलाई बुझाउनु उदाहरणीय कार्य भएको उल्लेख गर्दै उनले पानीको गहिराइबाट एक व्यक्तिलाई गरिएको उद्धारको खुसी सबैभन्दा ठूलो सन्तुष्टि हुने बताए ।

उनले उद्धार कार्य सबैभन्दा महँगो र जटिल भएकाले उद्धारकर्ताका लागि आवश्यक सामग्री खरिदका लागि गृह मन्त्रालयमा पहल भइरहेको जानकारी दिए ।

विसं २०५० सालमा नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित त्रिशूली नदीमा बेपत्ता हुँदा बङ्गलादेशबाट गोताखोर झिकाउनुपरेको थियो ।

विसं २०६७ मा बेस क्याम्पका रूपमा स्थापित यस विपद् व्यवस्थापन तालिम शिक्षालयले हालसम्म ७४ दक्ष गोताखोर उत्पादन गरिसकेको छ ।

हालसम्म दुई सय ७३ वटा विभिन्न विपद्का घटनामा आठ सय दुई जनालाई जीवितै उद्धार र तीन १७ जनाको शव निकालिएको सो अवसरमा जानकारी दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस