छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

छ पटक म्याद थप्दा पनि स्वास्थ्य चौकी अधुरै


१८ जेष्ठ २०८०, बिहिबार


खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्य चौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष बित्दा पनि भवन अधुरै छ ।

विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ । रु दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए ।

‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने । हालसम्मको काम पनि गुणस्तरीय नभएको उनको आरोप छ । ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङ रोगन, शौचालय तथा स्नान गृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’, न्यौपानेले भने ।

निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्य चौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ । निर्माण कम्पनीको लापरबाहीले निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य चौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ ।

ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ ।

ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो । ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा युवराज पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस