सन्दीप लामिछाने क्रिकेट टिमसँगै दक्षिण अफ्रिका नजाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सन्दीप लामिछाने क्रिकेट टिमसँगै दक्षिण अफ्रिका नजाने


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित हुने भएका छन् ।

जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मङ्गलवार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ ।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट सङ्घ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

‘सन्दीप आज टिमसँग जाँदैनन् । एक साताभित्रै अदालती प्रक्रिया भएका कारण उनलाई यो भ्रमणमा राख्न सकिएन’, पाठकले अदालतको प्रक्रिया नटुङ्गिएसम्म नेपाल टिमबाट सन्दीपको वैदेशिक भ्रमण निश्चित नभएकोसमेत बताए ।

विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि छन् । कार्यवाहक सचिव पाठकले प्रक्रिया पूरा भएमा विश्वकप छनोट प्रतियोगितासम्म उनलाई टिममा समावेश गरिने बताए ।

काठमाडौं जिल्ला अदालतमा मङ्गलवार पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाइ गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि रोकिएको हो ।

पछिल्लो केही महिनादेखि उनीविरुद्धको मुद्दा नियमित पेशीमा चढिरहे पनि अन्तिम सुनुवाइ र फैसला हुन ढिला भइरहेको छ ।

नेपाली टिम मङ्गलवार राति साढे २ बजे दक्षिण अफ्रिका प्रस्थान गर्नेछ । नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमहरूसँग चारवटा अभ्यास खेल खेल्नेछ ।

नेपाली टिम उतैबाट जिम्बाव्वे प्रस्थान गर्नेछ । नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र युएईसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेस्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेस्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस