दरबार हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दरबार हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरवार हत्याकाण्डको अनुसन्धान गर्ने बताएका छन् । 

आज (मङ्गलवार) नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले दरवार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका हुन् ।

उनले ठूला हत्याकाण्डका नामले परिचित दरवार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने दाबी गरे । उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, ‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिने छन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड। त्यसको छिनोफानो भएको छैन । नेपाली जनताको मनमा धेरै ठूलाठूला शङ्काहरू छन्। के भएको हो भन्ने कुराको सत्य तथ्य आएको छैन । यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर ।’

Tags :
प्रतिक्रिया दिनुहोस