पूर्वराजालाई डाँडा कटाउने मुख्यमन्त्री शर्माको चेतावनी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वराजालाई डाँडा कटाउने मुख्यमन्त्री शर्माको चेतावनी


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। कर्णाली प्रदेशमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री राजकुमार शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनी दिए । यो व्यवस्था दशकौँ लामो सङ्घर्षको जगबाट आएकाले भन्दै उनले भने, ‘डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’

गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए ।

सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता जिस्क्याएको र सक्रिय राजनीति गर्न खोजेको भन्दै आलोचना गरेका थिए ।

यसैगरी प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

काँग्रेस नेता जीवनबहादुर शाहीले पनि कुनै हालतमा राजतन्त्र फर्कन नसक्ने दाबी गरे । गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताए ।

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरे । शनिबार पूर्व राजा शाह वीरेन्द्रनगरमा आएर गरेको सम्बोधनलाई प्रतिवाद गर्दै कँडेलले पूर्वराजा पार्टीको अध्यक्ष बनेर बस्दा राम्रो हुने बताए ।

कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस