धनुषामा जसपाको समानान्तर समिति घोषणा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धनुषामा जसपाको समानान्तर समिति घोषणा


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) धनुषामा चरम विवाद देखिएको छ । पार्टीमा गुटबन्दीका कारण दुई जिल्ला कार्य समिति घोषणा भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशन र उपस्थितिमा चार दिनअगाडि कार्यदलका संयोजक तथा सांसद दीपक कार्कीले पुनः पशुपति यादवलाई जिल्ला अध्यक्ष घोषणा गरेका थिए ।

पशुपतिको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति बनाइएको थियो । सो कार्य समितिका पदाधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराइएपनि नवगठित समितका ७ जनाले शपथ लिएका थिएनन् ।

पशुपति नेतृत्वको जिल्ला समितिलाई धनुषाका अधिकांश केन्द्रीय र प्रदेश समितिका पदाधिकारी स्वीकार नगरेको पाइएको छ । स्वीकार नगर्नेहरूमा राजनीति समिति सदस्यहरू उर्मिला साह, अरुण सिंह मण्डल, चन्देश्वर सदा, केन्द्रीय सदस्य एवम् पूर्व प्रदेश सांसद चमेलीदेवी दास, प्रदेश सचिव जितेन्द्र कुमार यादव, प्रदेश सदस्य एवम् पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवलगायत छन् ।

उनीहरूले शनिबार शत्रुधन यादवको नेतृत्वमा समानान्तर समिति घोषणा गरेका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रदीप गोइत यादव, उपाध्यक्षमा ललित मण्डल, सचिवमा वरुणकुमार यादव, सह-सचिवमा सीता मण्डल र कोषाध्यक्षमा सुजीता यादवलाई राखिएको छ ।

समानान्तर समिति घोषणा राजनीति समिति सदस्य तथा प्रदेश सह-इन्चार्ज उर्मिला साहको प्रमुख आतिथ्यमा गरिएको छ । 

धनुषामा समानान्तर समिति घोषणा गरेर राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सोझै चुनौती दिएकोले सो कार्यमा संलग्नलाई कारबाही हुने मधेस प्रदेशका अध्यक्षसमेत रहेका कार्यकारिणी सदस्य रामबाबु यादवले चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस