‘भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला घात प्रतिघातमा परिने हो ठेगान छैन’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला घात प्रतिघातमा परिने हो ठेगान छैन’


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको १९ औँ साधारणसभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो कतिबेला दुस्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुस्मनको घात प्रतिघातमा परिने हो ठेगान छैन ।’उनले सरकाले लिने एक्सनको तरङ्ग पनि ठूल्ठूला हुने उल्लेख गरे । महान् सहिदहरूको सपना पूरा गर्ने योभन्दा अर्को बाटो नभएको उनको भनाइ थियो ।

प्रचण्डले थपे, ‘जनयुद्ध सुरु गर्दा को कतिबेला मारिने हो भन्ने टुङ्गो थिएन, मृत्युवरण गरेर हाम फालेका थियौं । अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । दुस्मनको घात प्रतिघातमा कहिले परिने हो टुङ्गो छैन । हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ, त्यसैगरी अहिले पनि हामी त्यही सङ्कल्पका साथ लागेको छौं ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा करोडौं जनताले साथ दिए जसरी अब भ्रष्टाचार र बेथितिविरुद्धको आन्दालेनमा साथ दिने आशा व्यक्त गरे ।

उनले भने, ‘जसरी १० वर्षे जनयुद्धमा लाखौं करोडौं जनताको साथ पाएका थियौं, त्यसैगरी अब पनि हामी साथ पाउनेछौँ । अहिले नदेखिएको मात्रै हो ।’ संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि सङ्ख्याले काम गर्ने प्रचण्डले गुनासो गरे ।

‘संसदीय राजनीतिमा सबै सङ्ख्याको खेल हुने रहेछ । यो कम्युनिष्टको सभा रहेनछ । बिचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन्,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस