अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै फिर्ता ल्याउँछौँ : मुख्यमन्त्री यादव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब सरकारी गाडी दुरुपयोग हुँदैन, तीन दिनभित्र सबै फिर्ता ल्याउँछौँ : मुख्यमन्त्री यादव


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सरकारी गाडी दुरुपयोग रोक्ने र कमिसनको खेल हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

कमिसन दिने पालिकालाई मात्र सशर्त बजेट पठाएको र सरकारी गाडीको दुरुपयोग बढेको भन्दै नेकपा एमालेका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गर्दै मुख्यमन्त्री यादवसँग जवाफ मागेका थिए ।

जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारीको गाडी दुरुपयोग रोक्ने र कमिसनको आधारमा बजेट पठाउने काम नहुने प्रतिबद्धता जनाए ।

उनले भने, ‘मन्त्रालयहरूको सरकारी गाडी जहाँ छ, सबै ठाउँबाट तीन दिनभित्र फिर्ता ल्याउँछौँ । अब सरकारी गाडी दुरुपयोग हुन दिन्नँ ।’

मुख्यमन्त्री यादवले सशर्त बजेट सम्बन्धी कार्यविधिमा रहेको जटिलता संशोधन गरी हटाउने र माननीय ज्यूहरूको समन्वयमा स्थानीय तहमा बजेट पठाउने बताए । उनले विगतमा समन्वय नभएको स्वीकार गर्दै अब नीति तथा कार्यक्रम र बजेट सबै सांसदहरूसँग सहकार्य र समन्वय गरी ल्याउने प्रतिबद्धता पनि जनाए ।

नेकपा एमालेका सांसदहरुले १० प्रतिशतसम्म कमिसन दिएको पालिकालाई मात्र सशर्त बजेट पठाएको आरोप लगाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस