सभामुख र उपसभामुखले गरे सगरमाथा आरोही बुढामगरलाई सम्मान  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख र उपसभामुखले गरे सगरमाथा आरोही बुढामगरलाई सम्मान 


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्। 

बालुवाटारस्थित सभामुखनिवासमा आज बुढामगरलाई स्वागत गर्दै उनीहरूले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गरे।  

उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन्। 

सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई-पत्र हस्तान्तरण गरेका थिए। बधाई-पत्रमा उनले युद्धमैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राखेको विश्व कीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गरे।  

रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस