बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति भएको छ । सहमतिपछि सत्याग्रह तोडिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि बुधबार जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो ।

बिनु यादवको सत्याग्रहका मागमध्ये यादवमाथि पवन कठायतले जबरजस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सरकारले यादवको माग सम्बोधनका लागि सम्पूर्ण प्रयत्न गर्ने आश्वासन दिए।

यादवले सहमतिअनुसार आफ्नो माग पूरा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग अनुरोध गरिन्।

अदालतमा विचाराधीन रहेका विषय अदालतबाट न्यायिक निरुपरण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने, यादवको स्वास्थ्योपचार गर्ने र उहाँको जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति दुई पक्षबीच भएको छ ।

यादव विगत १५ दिनदेखि कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबरजस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन्। उनले न्यायाधीश बद्रीप्रसाद ओली र यादवको काका ससुरा पवन कठायतलाई पनि कारबाहीको माग गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस