५ महिनापछि ‘प्रचण्ड’ नेतृत्वको सरकारले पायो पूर्णता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

५ महिनापछि ‘प्रचण्ड’ नेतृत्वको सरकारले पायो पूर्णता


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मंसिरमा भएको आमनिर्वाचनपछि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले मङ्गलवार ११ औँ पटक विस्तार गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

नयाँ जनादेशबाट आएको सरकारसँग नागरिकका अपेक्षाको चाङ लागेका भए पनि प्रधानमन्त्री दाहाललाई अहिलेसम्म गठबन्धन फेरबदल र सत्ताको भागबण्डा मिलाउनै हम्मे परेको छ । गठबन्धनको गठजोड नमिलेकै कारण दाहाललाई मन्त्रिपरिषद्लाई पूर्णता दिनै पाँच महिना लागेको हो ।

एमालेसँगको गठबन्धन हुँदा नै छ पटक मन्त्रिपरिषद्मा हेरफेर भइसकेको थियो । नयाँ गठबन्धन बनेपछि दाहालले मङ्गलवार पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मङ्गलवार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रप्रसाद यादव वन तथा वातावरणमन्त्री र जसपाकै प्रमीला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएसँगै दाहाल मन्त्रिपरिषद् २५ सदस्यीय बनेको छ । संविधानले मन्त्रिपरिषद् बढीमा २५ सदस्यीयमात्रै हुन पाउने व्यवस्था गरेको छ । 

मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, जसपा २, नेकपा एकीकृत समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीबाट १-१ जना मन्त्री बनेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट १-१ जना राज्यमन्त्री बनेका छन् । जसपाबाट नवनियुक्त मन्त्री महतो सिरहा-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राज्यमन्त्री बनेकी कुमारी राष्ट्रिय सभा सदस्य हुन् । उनलाई जसपाले यसअघि उपराष्ट्रपति पदको उम्मेदवार समेत बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस