बैंकिङ कर्जाको ब्याजदर घट्दै गएको छ, असारमा अझै घट्छ : बैंकर्स सङ्घ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बैंकिङ कर्जाको ब्याजदर घट्दै गएको छ, असारमा अझै घट्छ : बैंकर्स सङ्घ


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले बैंकिङ कर्जाको ब्याजदर घट्दै गएको र असारमा अझै घट्ने बताएका छन् । सोमबार सङ्घले आयोजना गरेको छलफलमा बोल्दै अध्यक्ष केसीले अन्तिम २ महिनामा सरकारको खर्च बढ्ने भएकाले जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान गरिएको बताए । 

एनएबमी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष केसीले कर्जा प्रवाह मौद्रिक नीतिको लक्ष्य अनुसार नहुने बताउँदै आगामी दिनमा सरकारको खर्च बढ्दा बैंकिङ प्रणालीमा तरलता थप हुँदै जाने बताए ।

कर्जाको ब्याजदर पुसदेखि नै घट्दै गएको र आगामी दिनमा अझै घट्ने दबी अध्यक्ष केसीको छ ।

सरकारले आर्थिक वर्षको अन्तिममा खर्च बढाउने भएकोले गत वर्षको तुलनामा १०-१ प्रतिशतले निक्षेप वृद्धि हुने तर, कर्जा लगानी गत असारको तुलनामा ५-६ प्रतिशतको मात्रै वृद्धि हुने देखिएको उनले बताए ।

तर, सरकारले ठूलो मात्रामा आन्तरिक ऋण उठाउँदै जाँदा तरलतामा दावा हुने जोखिम भने कायम रहेको उनले बताए । निजी क्षेत्रमा जाने कर्जा बढाउन सरकारले बाह्य ऋण परिचालनलाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ । बैङ्कहरूको लागत वृद्धि हुँदै जाँदा बैङ्कहरूको नाफा भने घट्दै गएको अध्यक्ष केसी बताउँछन् । बैङ्कहरूको पूँजीकोषको दबाबले गर्दा कर्जाको माग बढ्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

बैङ्कहरूको आधार दर नै अबको १-२ महिनामा एकल अङ्कमा झर्ने अवस्था रहेको र स्प्रेड रेट पनि असार मसान्तमा ४ प्रतिशतमा झर्दा ब्याजदर भने उल्लेख्य रूपमा घट्ने बैंकर्सको तर्क छ ।

पुसमा ८.५१ प्रतिशत पुगेको बैङ्कहरूको स्रोतको लागत चैतमा ८.२६ प्रतिशतमा झरेको बैंकर्स सङ्घले जनाएको छ । यस्तै बेसरेट पनि पुसमा १०.९१ प्रतिशतबाट घटेर चैतमा १०.४८ प्रतिशत कायम भएको छ । कर्जाको भारित औसत ब्याजदर माघ र फागुनमा १३.०३ प्रतिशत पुगेकोमा चैतमा १२.८४ प्रतिशत रहेको बैंकर्स सङ्घले जनाएको छ ।

वैशाखमा बैङ्कहरूको पछिल्लो ३ महिनाको औसत बेसरेट १०.४६ प्रतिशत र वैशाखको मात्रै औसत बेसरेट १०.२७ प्रतिशतमा झरेकोले ब्याजदर आगामी दिनमा थप घट्दै जाने देखिएको बैंकर्स सङ्घको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस