‘नो अब्जेक्सन सर्टिफिकेट’ अब घरबाटै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘नो अब्जेक्सन सर्टिफिकेट’ अब घरबाटै


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । ‘नो अब्जेक्सन सर्टिफिकेट’ अब घरबाटै लिने सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिन सक्ने व्यवस्था सुरु गरेको जनाएको हो । 

वैदेशिक अध्ययन अनुमति शाखा(एनओसी)का अनुसार २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन(अनलाइन मार्फत आवेदन दिन सक्ने र मिति लिन सक्ने) सेवा पाइरहेका विद्यार्थीले आज जेठ १ गतेदेखि पूर्णरुपमा अनलाइन सेवा पाउने भएका हुन् । 

विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइएको शाखाको भनाई छ । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्नुका साथै आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्न सक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताएका छन् ।

विद्यार्थीहरूले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्न सक्ने व्यवस्था गरिएको बताउँदै मन्त्री राईले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेको र चाँडै नै शतप्रतिशत काम हुने गरी तयारी गरिरहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले अब अन्य निकायहरूले पनि आफ्ना सेवाहरूलाई अनलाइन प्रणालीमा ढाल्नु पर्ने बताए । वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था छ ।

पछिल्लो समय मन्त्रालयले नीतिगतदेखि दैनिक सेवा प्रवाहका क्षेत्रमा क्रमशः सुधार गर्दै गइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस