ज्ञानेन्द्र शाहीले भने : आरोपीहरू नै सडकमा ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै हिँडेका छन् « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ज्ञानेन्द्र शाहीले भने : आरोपीहरू नै सडकमा ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै हिँडेका छन्


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचार विरुद्धको आन्दोलनमा भ्रष्टाचारीहरू नै संलग्न रहेको आरोप लगाएका छन् । भ्रष्टाचारीहरूले नै सडकमा गएर ‘भ्रष्टाचारी मुर्दावाद’को नारा लगाइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपाका प्रमुख सचेतक शाहीले तीन दशकभन्दा लामो समयदेखि यस्तै चलिआएको दाबी गरेका थिए ।

उनले भने, ‘अहिले भ्रष्टाचारविरुद्धको आन्दोलन सडकमा भइरहेको छ । स्वयम् भ्रष्टाचारको आरोप लागेका आरोपीहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै हिँडेका छन् । यो अहिले होइन ३४ वर्षदेखि यही अभ्यास भइरहेको छ । भ्रष्टाचारविरुद्धका कुरा उठ्छन्, स्वयम् भ्रष्टाचारका आरोपित भ्रष्टाचारविरुद्धको आन्दोलनमा जान्छन् । तपाईँहरू साँच्चै भ्रष्टाचारको विरुद्धमा लड्ने हो भने पार्टी पङ्क्ति, दल, सिद्धान्तभन्दा माथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु–हात खडा गर्नुस् ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही ? त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौँ । कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन ।’

भ्रष्टाचारविरुद्धको कानुन बनाएर कारबाही गर्न सांसदहरूलाई कसैले नरोक्ने शाहीको भनाइ थियो । भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, भ्रष्टाचार गर्नेहरूलाई तीन पुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानुन यही सदनबाट आजका दिनबाट पार्टी पङ्क्ति, सिद्धान्त नभनेर लागू गरौँ । हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ ? कसैले रोक्दैन । त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौँ । संसदमा एकजुट भएर अगाडि बढौँ । म यही भन्न चाहन्छु,’ उनले भने ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसद्मा आन्दोलन गर्नुपर्ने शाहीको भनाइ थियो । उनले भ्रष्टाचारलाई न्यूनीकरण गर्न, भ्रष्टाचार गर्नेहरूको तीन पुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानुन यही संसद्बाट बन्ने हुनाले संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस