छिट्टै काँग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने गगन थापाको दाबी  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

छिट्टै काँग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने गगन थापाको दाबी 


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले छिट्टै काँग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने बताएका छन् । उनले रूपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुने बताए ।

उपचुनाव परिणामबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले उपनिर्वाचनले काँग्रेसलाई दिएको सन्देश के हो ? र, यो सन्देशलाई पार्टीले कसरी लिनुपर्छ भनेर भइरहेको बहसले काँग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्ने बताएका छन् ।

विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात् गरेर इमान्दार आत्मसमीक्षा गर्ने समय भएको भन्दै उनले भनेका छन्, ‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन ।’

आफैँतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र साङ्गठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लाग्नुपर्ने उनले बताए ।

आफूले पनि रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको भएपनि आम चाहना अनुरूप अपेक्षित परिणाम आइनसकेको स्वीकार गरेका छन् ।

‘आम अपेक्षा अनुरूप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु’, उनले भनेका छन्, ‘पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ सङ्कल्पका साथ नेपाली काँग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस