कर्मचारी अभाव कि सरुवामा बेतिथि ?  एउटै हाकिम सम्हाल्छन् तीन कार्यालय ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारी अभाव कि सरुवामा बेतिथि ?  एउटै हाकिम सम्हाल्छन् तीन कार्यालय !


९ बैशाख २०८०, शनिबार


काठमाडौँ । नर बहादुर ठगुन्ना राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी हुन् । उनी अहिले दाचुर्लाका तीन वटा कार्यालयको हाकिम छन् । ठगुन्ना जिल्ला समन्वय समिति दाचुर्लाको जिल्ला समन्वय अधिकारी, महाकाली नगरपालिका र दुँहु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । 

यसैगरी पदमराज उपाध्याय पनि बझाङका दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनले बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली रहेका छन् । 

सुदूरपश्चिम प्रदेशका स्थानीय तहको तथ्याङ्क हेर्ने हो भने कतै एकै व्यक्तिले दुईदेखि तीन वटासम्म कार्यालय हेर्नु परेको छ भने कतै पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य र शिक्षा समूहका शाखा अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सञ्चालन गरिरहेका छन् ।

प्रदेशका २१ पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । बाजुराका ९ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । 

बझाङका १२ स्थानीय तहमध्ये ४ स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । बझाङको खप्तडछान्ना, गलकोट, मस्टा र सुर्मा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यसैगरी अछामका १० पालिकामध्ये ४ वटा निमित्तको भरमा छन् । मङ्गलसेन नगरपालिका, कमलबजार नगरपालिका, बान्ने गढी जयगढ गाउँपालिका र ढकारी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । 

डडेलधुराका ७ स्थानीय तहमध्ये दुई वटा निमित्तको भरमा छन् । अजयमेरु गाउँपालिका र नवदुर्गा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । बैतडीका १० मध्ये २ पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् । शिवनाथ र डिलासैनी गाउँपालिका निमित्तको भरमा छन् । दार्चुलाको शैल्यशिखर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । कैलाली र डोटीका एक/एक स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । यी त केही उदाहरण मात्र हुन् । अन्य प्रदेशमा पनि यस्तै अवस्था छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा नै प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्दा करिब एक सय ७० पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । पछिल्लो पटक निमित्त हटाउने भन्दै ४८ जना उपसचिवलाई स्थानीय तहमा पठाइएको थियो । तर, १२ जनालाई स्थानीय तहले हाजिर नै नगराई फर्काइदिए ।

स्थानीय तहका जनप्रतिनिधिहरूको चाहना अनुसारका कर्मचारी नपठाउँदा एकै दिन दुई पटकसम्म सरुवा भएको रेकर्ड पनि छ । मन्त्रालयले उपसचिव महेन्द्र विश्वकर्मालाई एकै दिन दुई ठाउँमा सरुवा गरेको घटनालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । 

गत माघ ४ मा पदभार ग्रहण गर्दै सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले माघ २७ मा बाध्यात्मक परिस्थितिबाहेक कुनै पनि विभाग वा कार्यालयमा कायममुकायम वा निमित्त प्रमुख नराख्ने भन्दै पाँच बुँदे लिखित निर्देशन दिए । मन्त्रीको निर्देशन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । तर, सरुवा व्यवस्थित गर्न आफू कटिबद्ध रहेको उनले बताउँदै आएका छन् ।

गत चैत २९ को प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री मोदीले कर्मचारी दुर्गममा जान नचाहने प्रवृत्ति देखिएको बताए । ‘५३ हजार कर्मचारी संघमा छन् । दुर्गम ठाउँमा कोही जान चाहँदैन । विकट सुन्न चाहँदैन । सबै उपत्यका र काठमाडौँ वरिपरि र सुगम मात्र जान चाहन्छ । यस्तो विकृति छ,’ उनले भने ।

कर्मचारी सरुवाको विषयलाई विभिन्न पक्षबाट दबाब आउनु, बेलाबेला मन्त्रालयमा कुटाकुटको स्थिति सिर्जना हुनु सामान्य जस्तै भएको छ । चैत अन्तिम साता निरन्तर दुई हप्तादेखि धाइरहेको एउटा समूह र प्रशासन महाशाखा प्रमुख कमल भट्टराईबिच हात हालाहालको स्थिति आएको हो ।

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७९ अनुसार संघमा ५३ हजार ५ सय ३१, प्रदेशमा १७ हजार ३ सय २२ र स्थानीय तहमा ६५ हजार २ सय ६९ गरी १ लाख ३६ हजार १ सय २२ दरबन्दी कायम रहेको छ । जसमा संघमा ३८ हजार १ सय २५, प्रदेशमा ११ हजार २ सय ४७ र स्थानीय तहमा ३६ हजार २ सय ८४ समेत गरी ८५ हजार ६ सय ५६ दरबन्दी पदपूर्ति भएको छ । अझै ५० हजार ४ सय ६६ दरबन्दी रिक्त रहेको देखिन्छ । स्थानीय तहको तथ्याङ्क हेर्ने हो भने आधाभन्दा बढी दरबन्दी खाली छ । 

Tags :
प्रतिक्रिया दिनुहोस