पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा


५ बैशाख २०८०, मंगलबार


पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यलगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नै पर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका पर्यटन व्यवसायीले त्यहाँका भोगाइ तथा अनुभवलगायतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्राकृतिकरूपमा विश्वकै सुन्दर गन्तव्यमध्येमा पोखरा पनि एक भएको बताउँदै आफूहरू विगतदेखि नै ‘अतिथि देवो भव:’ को मन्त्रलाई आत्मसात् गर्दै आएको बताए । ‘पोखरा मित्रराष्ट्र भारतका आम सर्वसाधारणका लागि सहजरूपमा घुमेर मनोरञ्जन लिन सक्ने गन्तव्य हो’, उनले भने, ‘भारतसँग नेपालको भौगोलिक निकटतासँगै वर्षौँदेखिको आपसी भाइचारा कायम रहँदै आएको छ ।’

नजिकैबाट हिमाली दृश्यको अवलोकनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि पोखरामा गर्न पाइने बताउँदै उनले आफूहरू सधैँ भारतीय पर्यटकको न्यानो आतिथ्यताका लागि तयार रहेको बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले भारत पोखरा तथा नेपालका लागि महत्त्वपूर्ण पर्यटन स्रोत बजार रहेको बताए । पोखरा सबै किसिमको मौसममा घुम्न उपयुक्त रहेको बताउँदै उनले भारतीय पर्यटकले पोखरा घुम्न आउने क्रममा विगतमा भोग्ने गरेका प्रवर्द्धनात्मक कार्यक्रमको उद्देश्य रहेको बताए ।

टुरिजम एशोसिएसन अफ विहारका सचिव प्रकाश चन्द्रले पोखरा आफूहरूको रोजाइमा पर्ने गन्तव्यमध्येको एक भएको बताए । भारतीय अधिकांश पर्यटकले घुमाइका क्रममा राम्रैसँग खर्च गर्ने गरेको उल्लेख गर्दै उनले पोखरामा अनलाइन पेमेन्टलाई सहज एवं प्रभावकारी बनाउन जरुरी रहेको बताए ।

पटनाका सिनियर टुरिजम कन्सल्टेन्ट सञ्जय शर्माले नेपाल र भारतबीचको सदियौँदेखिको रोटी र बेटीका सम्बन्धका कारण पनि एक अर्कामा नजिक रहँदै आएको धारणा राखे । पोखरा र पटनाबीचको कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिँदै उनले सिधा हवाई सम्पर्कका लागि दुवैतर्फबाट पहल गर्नुपर्ने आवश्यकता औँल्याए । भारतबाट नेपाल आउनका लागि सडक सञ्जाललाई पनि चाँडो व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले पोखरा हरेक मौसममा घुम्न सकिने गन्तव्य भएको बताउँदै धार्मिक पर्यटनसँगै साहसिक पर्यटनका विभिन्न गतिविधि एकसाथ गर्नका लागि पोखरा घुम्न आउन आग्रह गरे । आतिथ्यताका दृष्टिले पोखरा अग्रस्थानमा रहेको उनको भनाइ छ ।

नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेलले प्रवर्द्धनात्मक भ्रमणका क्रममा भारतीय पर्यटकले विगतमा भोग्ने गरेका असहज अवस्थाबारे समेत जानकारी लिइने बताए । पोखरा धार्मिक, सांस्कृतिक एवं साहसिक पर्यटनको गन्तव्य रहेको कार्यक्रम संयोजक एवं नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहालले बताए । विश्वमै विशिष्ट धार्मिक महत्त्व बोकेको शालिग्राम पाइने क्षेत्रका रूपमा गण्डकी रहेको उनले बताए ।

कार्यक्रममा पोखरा र पटनाका व्यवसायीबीच व्यावसायिक साझेदारीबारे छलफल (बिटुबी) गरिएको थियो । प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत आज बनारस पुगी त्यहाँका पर्यटन व्यवसायी एवं सञ्चारकर्मीसँग छलफल गरिने उनले जानकारी दिए । बनारसपछि अयोध्या एवं गोरखपुरलगायतका गन्तव्यमा प्रवर्द्धनात्मक कार्यक्रम गरी यही वैशाख ८ गते पोखरा फर्कने कार्यक्रम रहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस