मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित : मेयर बालेन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित : मेयर बालेन


१३ चैत्र २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता आश्वासनमै सीमित भएको टिप्पणी गरेका छन् ।

उनले पीडितहरू सधैँ काठमाडौँमा आएर आन्दोलन गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बसेको तर्क गरेका छन् ।

सोमबार खुलामञ्चको गेट अगाडि मिटर ब्याज पीडितहरूले प्रदर्शन गरिरहेका बेला मेयर शाहले समाजिक सञ्जालमा लेखेर सरकारको आलोचना गरेका हुन् ।

मेयर शाहले लेखेका छन्, ‘विगत केही वर्षदेखि नेपाल सरकारले मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रह्यो । सधैँ काठमाडौँ आएर आन्दोलन नै गर्न पर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ । हिजो ११ दिन हिँडेर काठमाडौँ आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौँ बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरुसङ सम्पर्क गरेर हामीले पशुपति जान आग्रह गर्‍यौ तर उहाँहरू खुलामञ्च मै बस्न खोज्नु भयो । हामीले सम्झाएर रत्नपार्कको शान्तीबाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेको छौ र उहाँहरू को माग प्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार समक्ष उहाहरुको समस्या समाधानको लागि जोडदार माग राख्दछौ । हामी चाहन्छौ यस्तो अवस्थामा काठमाडौँ कोही आउन नपरोस् , गाउँ गाउँमा सरकार पुगोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस