गण्डकी सरकारबाट माओवादीका मन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गण्डकी सरकारबाट माओवादीका मन्त्रीले दिए राजीनामा


१० चैत्र २०७९, शुक्रबार


गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्ने छ ।

एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । उनmले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे ।

सत्ताइस सदस्यसहित प्रदेशसभामा सबैभन्दा ठुलो दल रहेको नेपाली काँग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । काँग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस