नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८


१० चैत्र २०७९, शुक्रबार


काठमाडौं । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ ।

सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।

राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्याङ्क विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना सङ्कलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०-१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कूल जनसङ्ख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कूल जनसङ्ख्याको ०.०१ प्रतिशत हो ।

जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (९१.६७ प्रतिशत) रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस