आगलागीले १० वर्षमा ७ सयको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आगलागीले १० वर्षमा ७ सयको मृत्यु


१० चैत्र २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै जनधनको क्षति पनि बढेको देखिएको छ।

२०७० वैशाखदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार सात सय ९१ घटनामा ७६९ जनाको ज्यान गएको छ भने दुई हजार ५६८ घाइते भएको तथ्याङ्क छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ। डढेलोबाट काठ पात, जङ्गली जनावर, जडीबुटीसहित ठुलो पर्यावरणीय क्षति हुने गरेको छ। यसै अवधिमा चट्याङका दुई हजार २८० घटना हुँदा ९०१ जनाको मृत्यु भएको छ भने दुई हजार ५४५ घाइते भएका छन्। साथै दुई हजार ८०३ चौपायाको पनि क्षति भएको तथ्याङ्कमा उल्लेख छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विगत १० वर्षमा आगलागीका घटना तेब्बरले वृद्धि भएको बताए। उनले न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षणसहितका पहल गरिरहेको बताए। प्राधिकरणले आगलागी, वन डढेलो, चट्याङलगायत सबै प्रकारका विपद् जोखिमको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा व्यवस्थापनका कार्य सञ्चालन गर्न सबै जानकारी एउटै पोर्टलमा व्यवस्थित गर्ने प्रणाली सुरु गरेको छ।

आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि–नियन्त्रण दस्ता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरूका लागि उपयुक्त हुने तालिम सामग्रीको विकास गरी इ–लर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको उनले जानकारी दिए। प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दर प्रसाद शर्माले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटना झन् विकराल हुनसक्ने भएकाले राज्यका सम्बन्धित सबै निकाय र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए।

प्राधिकरणले आगलागी तथा वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिद गरी विभिन्न जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई वितरण गरेको छ। हालसम्म २१ जिल्ला प्रशासन कार्यालयलाई आगलागी नियन्त्रणका लागि बोकेर लैजान मिल्ने पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरूको ‘सेट’ नै वितरण गरिएको छ। प्राधिकरणले इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेलधुरा र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयमा त्यससम्बन्धी आवश्यक उपकरण वितरण गरेको जनाएको छ।

वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर र्‍याक, फायर एक्स हो, प्राथमिक उपचारका सामान, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चालगायत छन्। तनहुँका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, खोटाङको वराहपोखरी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई पनि पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरूको ‘सेट’ उपलब्ध गराइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवा र सिन्धुपाल्चोक एवं सप्तरीको तिरहुत गाउँपालिका र ताप्लेजुङका फुङलिङ नगरपालिका एवं मिरङ्देन गाउँपालिकालाई भने बोकेर लैजान मिल्ने पम्प हस्तान्तरण गरिएको छ।

आगलागी तथा वन डढेलोसहित सबै खालका विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यमा संस्थागत रूपमै स्वयंसेवक परिचालन गर्नका लागि प्राधिकरणले सूचना प्रणाली तयार गरेको छ। विसं २०७८ माघ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १२औँ बैठकले ‘विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि-२०७८’ पारित गरेपछि यस सम्बन्धमा रोकथाम र नियन्त्रणका थप काम सुरु भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस