एआईजी ज्ञवालीको जन्म मिति छानबिन गर्न गृहलाई अख्तियारको पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एआईजी ज्ञवालीको जन्म मिति छानबिन गर्न गृहलाई अख्तियारको पत्र


८ चैत्र २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी) श्यामलाल ज्ञवालीको नागरिकताको जन्म मिति छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्ञवालीले उमेर ढाँटेर जागिर खाएको भन्दै प्रमाणसहित उजुरी परेपछि आयोगले छानबिनका लागि सोमवार गृह मन्त्रालयलाई पठाएको पत्र गृह मन्त्रालयले बुधवार (आज) प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । 

ज्ञवालीले नागरिकताको जन्म मिति फरक पारी सरकारी निकायलाई झुक्क्याई जागिर खाएको भन्ने व्यहोरोको उजुरीपछि आयोगले गृहलाई छानबिन गरी एक महिना भित्र स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र त्यसलाई पुष्टि गर्ने कागजातसहित पठाउन भनेको छ । 

‘निज श्यामलाल ज्ञवालीको जिल्ला प्रशासन कार्यालय प्युठानबाट मिति २०४१ चैत्र २१ मा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्रमा उमेर १७ वर्ष भनी उल्लेख भएको, जसबाट जन्म मिति गणना गर्दा निजको जन्म मिति २०२४ चैत्र २१ हुन आउने देखिन्छ’ आयोगले गृहलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रहरी नियमावली, २०४९(दोस्रो  संशोधनसहित) को नियम १३ को उपनियम(१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुल्ला प्रतियोगितामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको व्यक्ति भाग लिन सक्ने छन् भन्ने व्यवस्था देखिन्छ ।’ 

२०५० मङ्सिर १ गते गोरखापत्रमा प्रकाशित प्रहरी निरीक्षक पदको लागि भएको दरखास्त आव्हानमा समेत छनोट हुने सालको वैशाख १ गते २० वर्ष २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था स्मरण गराउँदै आयोगले भनेको छ ‘निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाणपत्रबमोजिम उक्त छनोट हुने साल(२०५०) को वैशाख १ गते २५ वर्ष ९ दिन हुन आउने देखिन्छ, अतः यस सम्बन्धमा के कसो भएको हो सो सम्बन्धमा मन्त्रालयबाट यथाशीघ्र छानबिन गरी १ महिना भित्र स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र त्यसलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरू आयोगमा उपलब्ध गराउन अनुरोध छ’ 

ज्ञवाली सोमवार मात्रै एआईजीमा बढुवा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस