टुँडिखेलमा घोडे जात्रा सम्पन्न[फोटो फिचर] « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टुँडिखेलमा घोडे जात्रा सम्पन्न[फोटो फिचर]


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित यस वर्षको घोडे जात्रा कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित घोडे जात्रा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरिएको छ ।  समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र सो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरे । 

सो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय भए भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरे । 

यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरे भने नेपाली सेनाको टुकडीले उनलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो । 

समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, सो जम्प, क्याभलरी ड्रिल राइड र डग सो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।

घोडे जात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्व कालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडे जात्रा मनाउने गरिँदै आएको छ । कार्यक्रममा घोडे जात्रा इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो ।

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडाँैको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बिच सेना र प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो । 

घोडे जात्रा दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ । 

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडे जात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठुला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग हुँदै आएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीगणलगायत विशिष्ट महानुभाव उपस्थित रहेका थिए । 

संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि घोडे जात्रा हेर्न टुँडिखेल पुगेका थिए । समारोहमा सहभागी विशिष्ट पाहुनाहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए । 

घोडे जात्रा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०,  दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ ।

उक्त समारोह हेर्न टुँडिखेल वरपर नरनारीको बाक्लो उपस्थिति थियो भने नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । घोडे जात्राका अवसरमा टुँडिखेलभित्र घोडाका ठुला–ठुला आकृतिसहितका फ्लेक्स बोर्ड राखिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस