‘कर्मचारीभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात गरेको छु’ -मन्त्री मोदी « प्रशासन
Logo १६ जेष्ठ २०८०, मंगलबार
   

‘कर्मचारीभित्रको विकृति र बेथिति अन्त्यको सुरुवात गरेको छु’ -मन्त्री मोदी


७ चैत्र २०७९, मंगलबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासन भित्रको विकृति र बेथिति अन्त्यको सुरुवात भएको बताएका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन(निजामती) बागमती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । ‘हिजो पहुँच हुनेहरूले मात्रै अवसर लिने गरेका थिए, सीमित मान्छेहरू मात्रै अवसर लिने र सुगम ठाउँ, काठमाडौँ वरिपरि मात्रै रहने परम्परा थियो’ मन्त्री मोदीले भने, ‘मैले यसको अन्त्यको सुरुवात गरेको छु, यसको सुरुवात भएसँगै उनीहरू अतालिएका छन् ।’

मन्त्री मोदीले हिजोका दिनमा मन्त्रीलाईसमेत घुमाइदिन्छु भन्दै रजाइदजाई गरेर बसेकाहरू अतालिएर अनर्गल प्रचारमा लागेकोसमेत बताए । ‘हिजोसम्म खाइपाइ, रजाइदजाइ गरेर मन्त्रीलाईसमेत घुमाउन सक्छु भन्ने सोच भएकाहरू अहिले अतालिएका छन् । उनीहरूले अहिले अनर्गल प्रचारहरू सुरु गरेका छन्’ मन्त्री मोदीले भने ।

मन्त्री मोदीले देश र जनताको सेवाका लागि खटाएको ठाउँमा कर्मचारी जानुपर्ने समेत बताए । ‘तपाईँहरूलाई थाहै होला, हाम्रो मन्त्रालयभित्र वर्षौँसम्म बसिरहने एउटा बेथिति थियो । कर्मचारीहरू जरा गाडेर बसेका थिए’ उनले भने, ‘हामीले अहिले जरा गाडेर बसेका र जगेडामा भएकाहरूलाई पनि खोजी खोजी दरबन्दी भएको ठाउँमा पठाउन थालेका छौँ ।’

मन्त्री मोदीले सुधारको कार्यक्रम गर्दा र सुशासन कायम गर्न खोज्दा आउने सबै खाले जोखिम मोल्न तयार रहेको समेत उल्लेख गरे । उनले कहिलेकाहीँ त्रुटि हुन सक्ने भए पनि अपराध भने हुन नसक्नेसमेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस