सुदूरपश्चिममा सवारी दुर्घटना : तीन वर्षमा पाँच सय बढीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिममा सवारी दुर्घटना : तीन वर्षमा पाँच सय बढीको मृत्यु


५ चैत्र २०७९, आइतबार


कैलाली । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठुलो जनधनको क्षति हुने गरेको छ ।

ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौ वटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन ।

गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी दुर्घटना भएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको देखिएको छ ।

उक्त सवारी दुर्घटनामा परेर यहाँ पाँच सय तीनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै यहाँ एक सय ८७ सवारी दुर्घटना भएकामा एक सय २१ जनाले ज्यान गुमाएका छन् । यो आवमा एक सय ४६ गम्भीर र एक सय ५७ सामान्य गरी तीन सय तीन जना घाइते भएका छन् ।

यस्तै गत आव २०७८/७९ मा पाँच सय एक सवारी दुर्घटनामा एक सय ९६ जनाले ज्यान गुमाएका छन् । आव २०७७/७८ मा पाँच सय ५८ सवारी दुर्घटनामा एक सय ८६ जनाको मृत्यु भएको छ । यी दुई वर्षमा पनि सवारी दुर्घटनामा परेर सयौँ जना अङ्गभङ्ग भएका छन् ।

दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने,‘सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो, सबैले सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ ।’

सवारीसाधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरबाही र सडकको अवस्थाका कारण बर्सेनि सवारी दुर्घटना बढ्दै गइरहेका छन् । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, ग्रामीण क्षेत्रमा पनि सवारीसाधनको गति कम नहुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र सवारी चालक तथा सवारी धनीले प्रहरीलाई छलेर भए पनि क्षमताभन्दा बढी भार बोक्नुलगायते सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन, मोबाइल प्रयोग गरेर सवारी चलाउनु, यात्रु बोक्ने साधनमा सवारी चालक र सवारी धनीले जनावरदेखि खाद्यान्नसम्म बोकेर ग्रामीण क्षेत्रमा गाडी चलाउने र त्यसतर्फ प्रहरीको ध्यान कम जाँदा बढी दुर्घटना भइरहेको छ । यस्तै सवारीका कारण हुने दुर्घटनामा सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभर लोड, ब्रेक फेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन् ।

जस्तै चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्‍याएर पनि दुर्घटना भएका छन् । सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन् । यस्तै हुस्सु, कुहिरो, बाढी-पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले छड्के जाँच, टाइम कार्डदेखि ‘रिफ्रेस रेन्टर’को अभ्यास भइरहेको प्रमुख गिरीको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम र यातायात व्यवसायी र चालकलाई समेत बेला-बेलामा सचेत गराउने कार्य गरेको छ ।

उनले भने, ‘नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ, प्रदेशभरि दुई सय बढी सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ, चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस