संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा छु : मन्त्री मोदी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघीय निजामती ऐन टेबुल गर्ने तयारीमा छु : मन्त्री मोदी


४ चैत्र २०७९, शनिबार


जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सुशासनको सुरुवात गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले मधेस प्रदेशबाट सुशासनको सुरुवात गर्नुपर्ने बताएका हुन् ।

मन्त्री मोदीले संसद्को जारी अधिवेशनमा नै संघीय निजामती सेवा ऐन टेबुल गर्ने आफ्नो तयारी रहेको समेत बताए । ऐनका काम अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री मोदीले भने, ‘संघीय निजामती ऐनको काम अन्तिम चरणमा पुगिसकेको छ, संसद्को जारी अधिवेशनमा टेबुल गर्ने तयारीमा छौँ ।’

ट्रेड युनियनमार्फत राजनीतिमा लागेका कर्मचारीहरूले पनि पहिला जनताको सेवा गर्नु पर्ने र त्यसपछि मात्रै राजनीति गर्न सुझाएका छन् । जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको पाइए कारबाही गर्ने मन्त्री मोदीले बताएका छन् ।

मन्त्री मोदिले जनकपुरमा ठुलो खडेरीका कारण तलाउको पानी सुकेर गएको र खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्किएको बताए । उनले भने, ‘त्यही घडासँगै सीताको जन्म भयो, र पानीको पनि प्रबन्ध भयो भन्ने किंवदन्ती छ । मुलुकमा अहिले विकृति र विसङ्गति बढिरहेको छ, म चाहन्छु, सीताको जन्मस्थान भएको मधेस प्रदेशबाट सुशासनको सुरुवात होस् ।’

प्रधानमन्त्री प्रचण्डको मूल उद्देश्य पनि मुलुकमा सुशासन कायम गर्ने भएकाले आफूले सम्हालेको मन्त्रालयले सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको मन्त्री मोदीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस