बालाजु घटनामा जिम्मेवारी खोसिएका डिएसपीको बढुवा रोक्का « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालाजु घटनामा जिम्मेवारी खोसिएका डिएसपीको बढुवा रोक्का


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, बालाजुका पूर्वप्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्टको तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको छ ।

यातायात व्यवसायीले १ फागुनमा गरेको प्रदर्शनमा व्यावसायिक जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्षसहित विष्टलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार घटनाबारे छानिबन गर्न गठित डिआइजी मसाउद आलम खाँ नेतृत्वको समितिले दिएको सिफारिस अनुसार बढुवा रोक्काको निर्णय भएको हो ।

तत्कालीन समयमा प्रहरी वृत्त, सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई पनि सचेत गराउने निर्णय भएको छ । माछापोखरीमा प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडीमा तोडफोड र आगजनी गरेका थिए । त्यति हुँदा पनि प्रहरीले प्रतिक्रिया जनाउन नसकेको आरोप लागेको थियो ।

प्रदर्शनकारीले विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कर्पियोमा पनि तोडफोड र आगजनी गरेका थिए । घटनालगत्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रदर्शनका क्रममा यातायात व्यवसायीले ल्होत्से मलमा मोबाइल पसलमा लुटपाट समेत गरेका थिए । यो घटनामा प्रहरीले परिस्थितिको पूर्वमूल्यांकन गर्न नसक्दा चुक भएको छानबिन समितिको ठहर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस