‘नेपालको विद्युत् व्यापार गर्ने बेला भएको छैन, निर्यात किन गर्नु पर्‍यो ?’ « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

‘नेपालको विद्युत् व्यापार गर्ने बेला भएको छैन, निर्यात किन गर्नु पर्‍यो ?’


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत् व्यापार गर्ने बेला नभएको बताएका छन्।

अध्यक्ष ओलीले भारतप्रति सङ्केत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत् बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत् खरिद गर्न नहुनेसमेत बताए।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत् आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि उल्लेख गरे।

अध्यक्ष ओलीले मुलुकभित्रै विद्युत् खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै यसको बिक्रीको कुरा गर्न उपयुक्त हुने धारणासमेत राखे।

उनले भने, ‘विद्युत् निर्यात किन गर्नु पर्‍यो ? पहिले यहाँ खपत गरौँ, यहाँ रोजगारी सिर्जना गरौँ। उत्पादन उद्योगलाई अघि बढाऔँ। हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरौँ, अनि मात्रै व्यापारका कुरा गरौँला।’

Tags :
प्रतिक्रिया दिनुहोस