चालु आर्थिक वर्षमा आन्तरिक राजस्व सङ्कलन न्यून « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चालु आर्थिक वर्षमा आन्तरिक राजस्व सङ्कलन न्यून


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

दोस्रो चौमासिकसम्ममा विभागले तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत अर्थात् दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो ।

गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो । विभागले गत आवको आठ महिनामा दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ ।

फागुन मसान्तसम्म एक खर्ब ५८ अर्ब २५ करोड चार लाख बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले एक खर्ब १७ अर्ब सात करोड १९ लाख मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब १६ प्रतिशत बिन्दुले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । फागुन मसान्तसम्ममा ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर सङ्कलन तीन प्रतिशत विन्दुले न्यून हो । गत वर्ष फागुन मसान्तसम्ममा विभागले ७० अर्ब ७५ करोड ८४ लाख बराबर भ्याट उठाएको थियो ।

अन्तःशुल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यस वर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन । विभागका अनुसार फागुन मसान्तसम्म ७६ अर्ब ८२ करोड ४० लाख अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४ दशमलव ३६ प्रतिशत अर्थात् ६४ अर्ब ८१ करोड ६ लाख सङ्कलन भएको छ । गत वर्ष फागुनसम्मको तुलनामा यस वर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत विन्दुले बढेको छ ।

दोस्रो चौमासिक अवधिमा घर बहाल कर ७८ दशमलव ८१ प्रतिशत सङ्कलन भएको छ । फागुन मसान्तसम्मका लागि दुई अर्ब १४ करोड ८८ लाख बराबर घर बहाल कर उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ६९ करोड ३५ लाख बराबर मात्रै उठेको हो । गत वर्षको यही अवधिको तुलनामा घर बहाल कर १० प्रतिशत बिन्दुले घटेको छ । गत वर्ष एक अर्ब ८७ करोड २७ लाख बराबर उठेको थियो ।

त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ । विभागले फागुन मसान्तसम्ममा चार अर्ब ८५ करोड स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा चार अर्ब ७१ करोड बराबर मात्रै सङ्कलन भएको देखिएको हो ।

यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ । आठ महिना अवधिमा एक अर्ब ४२ लाख शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा एक अर्ब ६ करोड ४० लाख बराबर उठेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस