पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै


३० फाल्गुन २०७९, मंगलबार


कास्की । पर्यटकीय हिसाबले महत्त्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।

काहुँखोला–सिक्लेस सडक खण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ ।

सो सडक खण्डमा पहिलो चरणमा विजयपुर खोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ ।

पोखरा महानगरपालिका–१३ विजयपुर खोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ । निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता जनाएको छ । उनले भने, ‘लामो समयको प्रतीक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन् । यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ ।’

यसैगरी थाकबाट माथिको १० किमी सडकसमेत स्तरोन्नतिको काम सुरु भएको छ । रौताहा कन्स्ट्रक्सनले छ महिनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सो सडकको लागत २२ करोड २६ लाख छ । सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा प्रख्यात छ ।

दृश्यावलोकन र सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पक्की सडक बनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीय स्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुआत स्थलका रूपमा समेत लिइन्छ । विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारकाबीच सिक्लेसमा पहिलो पटक वार्ता भएको थियो ।

तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा वार्ता भएको थियो ।

सिक्लेसमा शान्तिस्तम्भसहित पूर्वाधार निर्माण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस