समस्या ल्याउने चिनियाँ कम्पनीसँग नै टेलिकमको मर्मत सम्झौता ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समस्या ल्याउने चिनियाँ कम्पनीसँग नै टेलिकमको मर्मत सम्झौता !


२९ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बिलिङ प्रणालीमा समस्या ल्याउने चिनियाँ कम्पनी एसियन इन्फोसँग नेपाल टेलिकमले पुनः मर्मत सम्झौता गरेको छ । टेलिकमले चार वर्षका लागि अरबौँ रुपैयाँ लागतमा मर्मतको जिम्मा कम्पनीलाई दिएको हो ।

दशकौँ पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ जडान गरेका कारण टेलिकमको नेटवर्क पटक पटक डाउन हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको छानबिन प्रतिवेदनले देखाए पनि टेलिकमले त्यसै कम्पनीसँगै सम्झौता गरेको खुलासा भएको छ । अहिलेको बिलिङ प्रणाली जडान गरेको एसियन इन्फोलाई निरन्तर प्रणालीको मर्मत सम्भारको जिम्मेवारी पाउँदै आएको छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले सम्झौता भइसकेको पुष्टि गरे पनि रकम भने यति नै भनेर आफूलाई जानकारी नभएको बताए । ‘सम्झौता भएको साँचो हो तर कुन मिति भन्ने पनि ठ्याक्कै थाहा भएन’, प्रवक्ता अधिकारीले भने ‘चार वर्षसम्मका लागि वार्षिक मर्मत सम्झौता भएको हो ।’

पछिल्लो समय नेपाल टेलिकम भद्रगोलको अवस्थामा चलिरहेको छ । निकै पछि आएको एनसेलले बजार छपक्कै ढाकी रहँदा सरकारी स्वामित्वको टेलिकमले भने न त नयाँ प्रविधि नै भित्र्याउन सकेको छ न त भइरहेकै सेवा नै उपभोक्तालाई दिन सकेको छ । सिष्टम डाउन हुनेदेखि बिलिङ प्रणालीमै समस्या पछिल्ला ज्वलन्त उदाहरण हुन् । यसको कारण भने कमिसन सेटिङ नै भएको घाम जतिकै छर्लङ्ग छ ।

१ देखि १ दशमलव ५ प्रतिशतसम्म बिलिङ प्रणालीमा ‘भेरिएसन’ आउनुलाई सामान्य मानिए पनि १० प्रतिशतसम्म भेरिएसन आउनुमा टेलिकमकै उच्च अधिकारीहरू संलग्न रहेको सञ्चार मन्त्रालय स्रोत बताउँछ । वार्षिक तिसौँ अर्ब रुपैयाँ बढीको बिलिङ गर्ने टेलिकमले १० प्रतिशतका हिसाबले मात्रै ३ अर्ब बढी रकम सिष्टममा देखिँदैन ।

बिलिङ प्रणालीकै समस्याका कारण पोस्टपेड प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार भएको धेरै समय भएको छैन । जुन समस्या पछि सञ्चार मन्त्रालयले गठन गरेको छानबिन समितिले बिलिङ प्रणाली पुरानो मात्र नभई स्ट्यान्डर्ड नहुँदा कम्पनीको व्यापारमा नोक्सानी भइरहेको निष्कर्ष निकाल्दै नेपाल टेलिकममा भएको बिलिङ प्रणाली परिवर्तन गर्नुपर्ने सुझाव दिएको थियो । तर, टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले भने जसका कारण समस्या आइरहेको छ उही एसियन इन्फो कम्पनीसँग चार वर्षका लागि मर्मतको सम्झौता गरेका छन् ।

भएकै प्रणालीलेसमेत राम्ररी काम नगर्नु तथा गर्नै पर्ने कामहरू नगरी खरिदका काममा मात्रै ध्यान जानुले पनि कानुनै परिवर्तन गरेर नेतृत्व सुम्पिएका पौडेलसँगको विशेष क्षमता देखिई सकेको छ । संस्था बनाउने भन्दा पनि सीमित व्यक्ति बनाउनतिर उद्यम उच्च नेतृत्वहरूका यस्तै यस्तै कार्यले सरकारी संयन्त्रहरू दिनानुदिन धरासायी मात्रै हुँदै छैनन् जुनसुकै सरकार आए पनि बदनामीसमेत खेप्नु परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस