३५ तोला प्रकरण : छानबिन समितिद्वारा डिएसपी केसीलाई कारबाही सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

३५ तोला प्रकरण : छानबिन समितिद्वारा डिएसपी केसीलाई कारबाही सिफारिस


२८ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ । 

एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई प्रतिवेदन बुझाउँदै डिएसपी केसीको गल्ती औँल्याएको हो । 

गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको टोलीले उनको निवासबाट स्रोत नखुलेको ३५ तोला सुन बरामद गरेको थियो । सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ । 

डिएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए । अवैध भएको पुष्टि भए राजश्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिए सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा उनले आफैँसँग राखेकाले बदनियत देखिएको हो । 

हाल निलम्बनमा रहेका केसीलाई कानुनअनुसार कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको छ । उनीमाथि सोही घटनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस