प्राधिकरणद्वारा श्री एयरको उडान प्रतिबन्ध फुकुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्राधिकरणद्वारा श्री एयरको उडान प्रतिबन्ध फुकुवा


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरको उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। श्री एयरले शुक्रबार विज्ञप्ति जारी गर्दै पुनः सेवा सञ्चालनका लागि अनुमति प्राप्त भएको जनाएको छ।

‘विज्ञहरूको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकाले पुनः सेवा सञ्चालन गर्न अनुमति प्रदान भएको छ, ’श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

श्री एयरले हवाई सुरक्षाका लागि सबै मापदण्ड पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

बिहीबार श्री एयरको काठमाडौँ-भैरहवा उडानमा रहेको जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि तत्कालै काठमाडौँमा आकस्मिक अवतरण गराइएको थियो।

सम्बन्धित समाचार : काठमाडौँबाट भैरहवा उडेको जहाजमा आगो देखिएपछि आकस्मिक अवतरण

यही विषयलाई लिएर प्राधिकरणले जहाजको उडानयोग्य परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको थियो। श्रीका ८ वटै जहाज शुक्रबार ग्राउन्डेड भएका थिए।

सम्बन्धित समाचार : श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक

परीक्षणमा केही खराबी नदेखिएपछि प्राधिकरणले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस