डिजेलमा मिसावट गर्ने चालक-सहचालक बर्खास्त  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डिजेलमा मिसावट गर्ने चालक-सहचालक बर्खास्त 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्याङ्करका चालकलाई बर्खास्त गरेको छ । मङ्गलवार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्याङ्करका चालक र सहचालकलाई बर्खास्त गरेको हो ।

डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्याङ्कर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन ढुवानीमा प्रतिबन्ध लगाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

ट्याङ्कर नम्बर ना ७ ख १५०७ का चालक रचित भट्टराई र सहचालक प्रज्वल बस्नेत, मे १ ख २१५१ नम्बरका ट्याङ्कर चालक डिल्लीराम भट्टराई र सहचालक राजेश मण्डल, ना ७ ख ६९७४ का चालक विनोद भट्टराई र सहचालक प्रदीप क्षेत्री र मे १ ख २१९४ नम्बरको ट्याङ्कर चालक विकिरण राई र सहचालक मनोज कुमाललाई बर्खास्त गरिएको निगमले जनाएको छ ।

उनकाअनुसार ती चारवटै ट्याङ्कर ६ महिनासम्म ढुवानीमा प्रयोग गर्न नपाउने निर्णय भएको छ । ती ट्याङ्करका सम्बन्धमा अझै छानबिन चलिरहेको प्रवक्ता उपाध्यायले बताए ।

डिजेल ढुवानी गर्ने ट्याङ्कर धनीलाई क्षति भएको मूल्य बराबरको डिजेलको क्षतिपूर्ति भराउने लगायतका अन्य कारबाही भने प्रक्रियागत रूपमा हुने निगमले जनाएको छ ।

निगमका अनुसार मिसावटको डिजेल ढुवानीमा प्रयोग भएका मे १ ख २१५१ नम्बरको ट्याङ्कर माता पाथीभर आयल सप्लायर्स हो भने मे १ ख २१९४ नम्बरको ट्याङ्कर नवदुर्गा आयल स्टोर्सको हो । यस्तै ना ७ ख १५०७ को ट्याङ्कर उत्तर गङ्गा यातायात कम्पनीको नाममा दर्ता छ भने ना ७ ख ६९७४ को ट्याङ्कर रिजाल आयल सप्लायर्स एण्ड ट्रेडर्स कम्पनीको रहेको निगमले जनाएको छ ।

गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट डिजेल लिएर आएका ती ट्याङ्करको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो । निगमले ८२० देखि ८५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा तल घनत्व रहेको पाइएको थियो । मिसावट भएका इन्धनको इन्धनको मूल्य एक करोड ४० लाख रुपैयाँ बराबरको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस