सुकुम्वासीविरुद्धको जाहेरीमा अनुसन्धान गर्दै प्रहरी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुकुम्वासीविरुद्धको जाहेरीमा अनुसन्धान गर्दै प्रहरी 


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको थापाथलीका सुकुम्वासीविरुद्ध काठमाडौँ महानगरपालिकाले दिएको जाहेरीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी सिताराम रिजालका अनुसार सुकुम्वासीको आक्रमणमा परी घाइते भएका नगर प्रहरीले नाम किटान गरी दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको हो ।

नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको एसपी रिजालले बताए । उनका अनुसार सुनसरीबाट नारायण परिश्रमिक र शंखमूलबाट हुकुमबहादुर लामालाई पक्राउ गरिएको हो ।

“पक्राउ आरोपितलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ,” एसपी रिजालले बाह्रखरीसित भने ।

गएको मंसिर १२ गते एसपी राजु पाण्डेको नेतृत्वमा नगर प्रहरीको टोली सो सुकुम्वासी बस्तीमा डोजर चलाउन पुगेको थियो । बस्तीमा डोजर चलाउन खोज्दा सुकुम्वासीले ढुंगामुढा गरेका थिए । त्यसक्रममा ३६ नगर प्रहरी घाइते भएका महानगरले जनाएको थियो ।

त्यसपछि महानगरले नगर प्रहरीमाथि आक्रमण गर्नेहरूको नाम किटान गरी प्रहरी परिसरमा उजुरी दिएको थियो । उजुरीमाथि छानबिन र पक्राउ नगरिँदा यसअघि महानगरले असन्तुष्टि जनाउँदै आएको थियो ।

खुलेआम नगर प्रहरीमाथि घरेलु हातहतियारले आक्रमण गरिँदा पनि नेपाल प्रहरी मूकदर्शक बनेको महानगरको जिकिर छ । बस्ती हटाउन नगर प्रहरी जाँदै गर्दा नेपाल प्रहरीले ‘फ्रन्ट लाइन’मा सुरक्षा नदिएकाले झडपको स्थिति सिर्जना भएको महानगरको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस